अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने कसरत भइरहेको छ: प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उहाँले झुटो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोकल्पित र झुटो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गर्नुभयो ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा आफूले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु सम्मेलनका क्रममा थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ । भिजिट भिसा र अध्ययन भिसामा रुसमा पुगेका नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी कार्य भइरहेको बताउनुभयो । रुसी सेना बनेका नेपाली कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको प्रचण्डले सुनाउनुभयो ।

त्यस्तै, प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए । प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गरेर र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताउनुभयो । वर्तमान सत्ता गठबन्धन पूरै अवधि कायम रहने बताउनुभयो ।