मदन भण्डारी मेमोरियल कलेजमा ‘जागरण अवधिमै लैङ्गिक हिंसा’ शिर्षकमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा ‘जागरण अवधिमै लैङ्गिक हिंसा’ शिर्षकमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम भएको छ ।

नयाँ बानेश्वरस्थित कलेजले लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान चलिरहेको अवसरमा आज (सोमबार) कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ का सम्पादक मदन पौडेलले महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्क र विश्लेषणका बारेमा जानकारी दिनुभयो ।

लैङ्गिकतामा आधारित १६ दिने अभियानअन्तर्गत सम्पादक पौडेलले नेपालमा महिला तथा बालबालिका हिंसा सम्बन्धि घरेलु तथा सामाजिक घटनाको अवस्थाका बारेमा बताउनुभयो । इन्फर्मल सेक्टर सर्भिस सेन्टर (इन्सेक)ले तयार पारेको एक तथ्याङ्कका अनुसार १६ दिने अभियानकैक्रममा हिंसाका ६२ वटा घटनाहरु प्रहरीकोमा दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै घरेलु हिसांका १३ वटा घटना दर्ता भएका छन् ।

पौडेलले भन्नुभयो, “गत वर्ष अन्तरधार्मिक विवाह गर्ने चार महिलाको इज्जतको नाममा हत्या भएको थियो र यो वर्ष पनि एकजना युवतीको हत्या गरिएको प्रहरीको रिर्पोटले देखाउँछ । यो त बाहिर सार्वजनिक भएका घटना मात्रै हुन् । सार्वजनिक नभएका घटना अझ धेरै छ । यसरी हेर्दा महिलाहरुलाई आफनो व्यक्तिगत निर्णय लिने अधिकार नभएको बुझ्न सकिन्छ ।” नेपालमा विशेषगरी तराई क्षेत्रमा दाइजोका कारण महिलाहरूमाथि हत्या हिंसाका घटना धेरै हुने गरेको उहाँले जनाउनुभयो ।

उहाँले पीडितलाई न्याय मात्रै नभएर जनस्तरबाटै जनचेतनामूलक कार्यक्रम गनुपर्ने तथा पीडकलाई सामाजिक बहिष्कार गर्नुपर्नेलगायतका सुझाव दिनुभएको छ । हत्या, हिंसा पीडित महिलाहरूको संरक्षण, कानुनी सहायता र उत्थानका लागि सरकारले गरेका प्रयासहरु विगतका तुलनामा प्रसंसनीय रहे पनि अझै पर्याप्त हुन सकेको छैन । महिलालाई आफूमाथि भएको हिंसाका बारेमा आवाज उठाउन र पीडकलाई सजाय दिन पनि इन्सेक नेपालले साथ र सहयोग दिने उहाँले बताउनुभएको छ ।

हिंसालगाायतका घटना हुनै नदिन र हिंसा भोगेकाहरुलाई न्याय दिलाउन प्रहरी, सामाजिक अभियन्ता, अधिकारकर्मी र मानव अधिकार आयोग स्वयम् पनि क्रियाशील हुनैपर्ने पौडेलको भनाइ छ ।