गोविन्द केसी लक्षित स्वास्थ्यमन्त्रीको टिप्पणी : कोही सुत्छु भन्दैमा चिकित्सा शिक्षा ऐन संशोधन रोकिन्न

काठमाण्डौ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताउनु भएको छ ।

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले डा. गोविन्द केसीप्रति लक्षित गर्दै कोही सुत्छु भन्दैमा सरकार ऐन संशोधाबाट पछि नहट्ने बताउनु भएको हो ।
चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालको मेडिकल शिक्षा धराशायी बन्दै गएको उहाँको भनाइ छ ।

केही दिनअघि पनि मन्त्री बस्नेतले डा. केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाउनु भएको थियो । चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उहाँको भनाइ छ । चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उहाँले यसलाई थप गरेर अघि बढ्ने बताउनु भएको हो ।

सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको बस्नेतले जानकारी दिनु भएकोछ ।