नेकपा एमालेको जारी मध्यपहाडी लोकमार्ग पदयात्रा आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै
काठमाण्डौ । नेकपा एमालेले जारी मध्य पहाडीलोक मार्ग पदयात्रा आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै छ । आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा आएर बास बस्ने एमालेले जनाएको छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिँधै दोलखातर्फ जाने र दोलखा जाने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट ,किर्ने लगायतका ठाउँहरूमा स्थानीयबासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ ।
त्यस्तै आज बिहानको खाना चरिकोटमा हुनेछ । चरिकोटबाट फर्कँदा पुष्पलालको जिल्ला रामेछापको मन्थली आउने कार्यक्रम छ । रामेछापमा अध्यक्ष ओली सहितका नेताहरूले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्ति गर्नुहुनेछ ।
नेकपा स्थापना भएको यस वर्ष ७५औँ वर्ष पुगेको छ । सोही अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्य पहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।