अफगानिस्तानले नेपाललाई दियो २ सय ६२ रनको लक्ष्य
काठमाण्डौ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।
दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयो । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ’ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ’बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।
मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ’ए’ को विजेता र समूह ’बी’ को उपविजेता तथा समूह ’बी’ को विजेता र समूह ’ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।