कोशी प्रदेशमा एआई, रोबोटिक्स र कोडिङलगायतका विषमा विद्यार्थीलाई तालिम शुरु

काठमाण्डौ । कोशी प्रदेशमा सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङलगायतका विषमा विद्यार्थीलाई तालिम शुरु भएको छ ।

पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रवारदेखि तालिम दिन शुरु गरिएको हो । मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाण्डौका प्रशिक्षकद्वारा शुक्रवारदेखि तालिम तथा अध्यापन शुरु गरेको हो ।

अहिलेको विश्व परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा भएको अत्यधिक मागलाई ध्यानमा राखी देशमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन शुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्तरुपमा शुभारम्भ गर्दै तालिमले देशलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

विद्यालयले दूर शिक्षालाई १० लाख रुपैयाँ भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ ।