भ्याट नलाग्ने भएपछि बजारमा आलुको कारोबार शुरु : प्याज भने अभाव

काठमाण्डौ । बजारमा आलुको कारोबार शुरु भएको छ । आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको हो ।

हिजो आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने सूचना निकालेको थियो । यो सूचना आएपछि आजदेखि कारोबार खुलाइएको आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारमा प्याजको भने अभाव छ । नेपालमै उत्पादन हुने अनुकुल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ । भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । यसले गर्दा बजारमा प्याज महँगो छ ।