त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
काठमाण्डौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ ।
कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो । कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुन (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरेको जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप १ जनालाई पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।