राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न नसकेको अध्यक्ष तिमिल्सिनाको टिप्पणी
काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको सङ्घर्ष गरेका नेताहरूले देशको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उहाँको भनाइ थियो ।
आज मङ्गलवार काठमाण्डौमा आयोजित बाल क्लबका पूर्वसदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई देशको सुशासन र समृद्धिका लागि सङ्घर्ष गर्न पनि आग्रह गर्नुभयो । युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उहाँले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।