एमाले अध्यक्ष ओलीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन, आयोजना निर्माणमा सम्झौता नगर्न आग्रह
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ । पार्टीको महाकाली-मेची अभियानका क्रममा आज बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवम् अवलोकन गर्नुभएको हो ।
अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा कुनै पनि सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । अध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी तत्काल सम्पन्न गनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने जोखिम भएकाले यसमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको झण्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउने तथा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने यो आयोजनाको लक्ष्य छ । आर्थिक वर्ष २०७१/७२ देखि निर्माणकार्य सुरु भएको आयोजनाको काम गएको आर्थिक वर्षमै सकिनुपर्ने भएपनि भूकम्प, कोरोना महामारीलाई कारण देखाएर आयोजनाको निर्माणमा ढिलाइ हुँदै आएको छ । भेरी बबई डाइभर्सनको अहिलेसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ ।