सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ
काठमाण्डौ । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको हो । शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजारमा झरेको थियो ।
शुक्रवारको तुलनामा हिजो एक हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ ।
चाँदीको भाउ भने आज पनि हिजो जस्तै तोलाको एक हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।यसअघि सोमवार सुन प्रतितोला एक लाख १७ हजार ४ सय तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।