‘कोप २८’ लाई सम्बोधन गरी स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) स्वदेश फर्किने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागी हुन दुबई पुग्नुभएका प्रधानमन्त्री आज साँझ स्वदेश फर्किन लाग्नुभएका हो ।

कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको थियो ।

उहाँले आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हिमाललाई यातना दिइएको पनि बताउनुभएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी) ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको उल्लेख गर्दै उहाँले जलवायु प्रेरित प्रकोपले हिमाली क्षेत्रमा कीर्तिमान तोडिरहेको सम्मेलनमा बताउनुभएको थियो ।