हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।

शनिवार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय राउण्डटेबल बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री प्रचण्डले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले हिमाल बचाउने अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले हिमाली देश र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औँल्याउनु भयो । उहाँले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरणका लागि विगतमा गरिएका निर्णय तथा प्रतिबद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।