केपी ओली कप : एपीएफलाई ११ रनले हराउँदै मधेस फाइनलमा
काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज बिहीवार भएको खेलमा मधेसले एपीएफलाई ११ रनले हरायो ।
मधेसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्यो । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक ५५ रन बनाए । यस्तै सन्दीप जोराले ५४ र लोकेश बमले ३२ रन जोडे । बलिङतर्फ मधेसका विशाल पटेलले ३ तथा हरिशङ्कर शाह र प्रदिप पासवानले समान २ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जोडे । बलिङतर्फ एपीएफका मौसम ढकालले ३ र अमर रौटेलाले २ विकेट लिए ।
अब मधेसले फाइनलमा भोलि शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।