आजदेखि कोप–२८ सम्मेलन सुरु : नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दुबइमा
काठमाण्डौ । आजदेखि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ दुबईमा सुरुहुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘कोप’ २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुग्नु भएको छ । प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट गएराति दुबई जानुभएको हो । गएराति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीलगायतले स्वागत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुँनुहुनेछ । उहाँले मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड युएईको ५२औँ एकता दिवसका अवसरमा आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।
उहाँले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वान ः जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्ने कार्यक्रम छ । यस्तै प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै उच्च पदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । जहाँ नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा सुपुत्री गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड मङ्सिर १७ गते स्वदेश फर्कर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।