हमासले १३ जना बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझायो

एजेन्सी । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच बन्धक तथा कैदीबन्दी आदानप्रदानको क्रम शुरु भएको छ ।

सहमतिअनुसार हमासले १३ जना इजरायली बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको बीबीसीले जनाएको छ । यस्तै हमासले १२ जना थाई नागरिकलाई पनि रिहा गरेको छ । अब इजरायलले ३९ जना प्यालेस्टिनी कैदीबन्दी रिहा गर्ने छ । कतारको मध्यस्ततामा दुई पक्षबीच भएको सम्झौताअनुसार शुक्रवार बिहानदेखि युद्धविराम शुरु भएको हो ।

कम्तीमा चार दिने हुने युद्ध विराममा हमासले ५० जना बन्धक रिहा गर्ने र बदलामा इजरायलले एक सय ५० जना प्यालेस्टिनी कैदीबन्दी हस्तान्तरण गर्नेछ । अहिलेसम्मको अवस्था हेर्दा कतारद्वारा मध्यस्थता गरिएको सम्झौताको दुवैले पालना गरिरहेका छन् र कुनै पक्षबाट गोलीबारी भएको सार्वजनिक भएको छैन । युद्धविराम अगाडि बढेसँगै बिहानदेखि सहायता सामग्री बोकेका ६० वटा ट्रक गाजा प्रवेश गरेका छन् ।

इजरायलले युद्धविराम समाप्त भएपछि फेरि लडाइँ शुरु गर्ने र गाजाको हरेक भागमा हमासलाई सत्ताबाट निकाल्न चाहेको बताएको छ । तर केही विश्लेषकहरूले अब फेरि पहिलेकै गतिमा आक्रमण गर्न इजरायललाई समस्या हुने र उसका सहयोगीहरूले लामो युद्धविरामको दबाब दिन सक्ने बताएका छन् ।