बल्खुमा ५–७ हजारले हाहाहुहु गर्दा सरकार थर्कमान छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गर्नु भएको छ ।
आज राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन भएपनि सरकारको जग नभएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हिजो बल्खुमा भोलि उठि कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन् थाहा छैन। केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए । यो सरकार त्यतिकैमा थर्कमान् छ । पाँच सात हजार मान्छे यसो हेर्न आए होलान् । जग नै नभएको सरकार भएकाले अहिले थर्कमान छ ।

एउटा किलो गाडेको छ भने हल्लिँदैन । यसो थेप्चो थेप्चो पारेर राखेको छ भने हावा आएर पनि ढलिहाल्छ । यो सरकार त्यस्तै हो । गठबन्धन छ । जरा छैन ।जनतामा निराशा बढ्न खतरानाक भएको उहाँको भनाइ छ । उहाँले अहिले अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा हुँदा व्यवसायीहरुले सरकारको साथ पाउन नसकेको बताउनु भएको छ ।

उहाँले सरकारले सत्ता स्वार्थको मान्छेको ज्यान लिने व्यक्तिहरुलाई छाडेकोप्रति अदालतले चालेको कदम स्वागतयोग्य भएको बताउनु भयो ।