सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान
काठमाण्डौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशविरुद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
आज (शुक्रबार) सिंहदरबारमा बसेको समिति बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधिश सिफारिस भएकाहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
न्यायपरिषद्ले शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधिशमा सिफारिस गरेको थियो ।
समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिनु भएको हो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाँले बताउनु भएको हो ।
त्यस्तै बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनु भयो । सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।