१९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेट श्रीलङ्कामा नभई दक्षिण अफ्रिकामा हुने
काठमाण्डौ । १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेट श्रीलङ्कामा नभई दक्षिण अफ्रिकामा हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले प्रतियोगिता श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो । श्रीलङ्का बोर्डको प्रशासनमा व्यापक सरकारी हस्तक्षेपको कारण आईसीसीले भर्खरै श्रीलङ्का क्रिकेटलाई अस्थायीरूपमा निलम्बन गरेपछि विश्वकप हुने स्थान पनि सरेको हो ।
श्रीलङ्का क्रिकेट बोर्ड र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच विगत एक वर्षदेखि विवाद छ । रणसिङ्घेले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाएका छन् भने क्रिकेट बोर्डले यसलाई अनावश्यक हस्तक्षेप गरेको बताउँदै आएको छ ।
१९ वर्षमुनिको विश्वकप आउँदो जनवरी र फेब्रुअरीमा हुँदैछ । नेपालले पनि यो विश्वकपमा स्थान बनाएको छ । नेपालले पहिले खेल जनवरीको १३ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपाल रहेको समूह ’डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।