शेयर बजार परिसूचक नेप्से आज झन्डै २४ अङ्कले घट्यो
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से झन्डै २४ अङ्कले घटेको छ ।
आज मङ्गलवार नेप्से २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झन्डै ९ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन आज मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर भने आठ प्रतिशतले बढेको छ ।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३६ लाख ७५ हजार कित्ता शेयर ९५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।