जाजरकोटमा चिसोबाट एक महिने शिशुको ज्यान गयो, ५० भन्दा बढी बालबालिका बिरामी

काठमाण्डौ । जाजरकोटमा चिसोबाट एक महिने शिशुको ज्यान गएको छ ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोले ज्यान गएको हो ।
भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीकाअनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । चिसोबाट जाजरकोटमा ५० जनाभन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ ।

गएको कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पमा परि एक सय ५४ जनाको ज्यान गएको छ भने तीन सय ४६ जना घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।