गाजामा मानवीय सङ्कट रोक्न विश्वले तुरुन्त कदम चाल्नुपर्छ : चिनियाँ विदेशमन्त्री
एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमवार अरब तथा मुस्लिम बहुल राष्ट्रका कुटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको बीबीसीले बताएको छ ।
हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ । इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए । त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ ।
इजराइलको लगातारको हवाई हमला र स्थल कारबाहीमा कम्तीमा १३ हजार जना मारिएका गाजामा रहेको हमास सरकारले बताएको छ । दुवै पक्षका मारिनेमा धेरैजसो सर्वसाधारण छन् ।
चीनले आइतवार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि संलग्न छन् । बेइजिङले अहिलेको प्यालेस्टिनी–इजराइल सङ्घर्षको न्यूनीकरणलाई प्रवर्द्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताएको छ ।