राष्ट्रपति र प्रधानमन्त्री संविधान सिध्याउने कुरामा लाग्नुभयो : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले पक्षपातपूर्ण व्यवहार गरिरहेको बताउनुभएको छ ।
आज (शनिबार) पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उहाँले राष्ट्रपति पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाउनुभएको हो । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो । ओलीले राष्ट्रपति पौडेलको व्यवहारले सुरुदेखि नै पदिय निष्पक्षतामाथि प्रश्न उठेको बताउनुभयो । संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाइ थियो ।
ओलीले संविधानअनुसार देश चल्नुपर्ने, संविधानअनुसार राष्ट्रपति चल्नुपर्ने, संविधानअनुसार प्रधानमन्त्री चल्नुपर्ने र संविधानअनुसार राज्यका निकायहरु चल्नुपर्ने भए पनि उहँहरु संविधान सिध्याउने कुरामा चाँहि लागेको बताउनुभयो ।अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । ओलीले सरकारले विकासभन्दा गुन्डाहरूको संरक्षणमा आफ्नो रुचि देखाएको आरोप लगाउनुभयो । ओलीले वर्तमान सरकारलाई विकाशतर्फ नभएर गुन्डाहरूको प्रोत्साहन र अपराधीहरूलाई छुटकारा दिनतर्फ केन्द्रित भएको बताउनुभयो ।
सबै तहका अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गर्दा पनि सरकारले थुन्नै नहुने भन्दै त्यस्ता व्यक्तिलाई आममाफी दिने गरेको उहाँको भनाई थियो । उहाँले सडकमा न्याय मागिरहेका महिलामाथि भने सरकारले दमन गर्ने गरेको बताउनुभयो । देशमा अराजकता मच्चाउन पाइने न्याय माग्न नपाइने ? हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
नेकपा एमाले निकट युवा–विद्यार्थीहरुले यही मंसिर ७ गते राजधानीमा विरोध प्रदर्शन गर्दैछन् । मंसिर ७ गते गर्ने भनिएको विरोध प्रदर्शन र मंसिर १४ गते देखि पार्टीले गर्न लागेको मध्यपहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसंगठनहरुको भूमिकाको विषयमा छलफल गर्न आज एमालेले जनसंगठनका पदाधिकारीहरुको विशेष बैठक डाकेको थियो ।