आफ्नै स्वरको जस्तो गीत सुन्दा ओलीको प्रतिक्रिया : “प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ”
काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल टिकटकमा आफ्नै आवाजको जस्तो गीत सुन्दा अचम्म लागेको बताउनुभएको छ ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुन्दा अचम्म लागेको बताउनुभएको हो । आफ्नो आवाजमा आएको उक्त गीत फेसबुकमा सेयर गर्दै अध्यक्ष ओलीले प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्ने बताउनु भएको छ ।
सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओली लेख्नुहुन्छ ।
“मलाई अचम्म लाग्यो !! TikTok हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो। ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो । प्रविधिको विकास हुनु राम्रो हो, तर आफूले बोल्दै नबोलेका कुराहरू पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दैछ। प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ । ”