यो वर्ष काठमाण्डौमा राती १ बजेसम्म देउसी–भैलो खेल्न पाउने : मेयर शाह

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले यो वर्ष राती १ बजेसम्म देउसी, भैलो खेल्न पाउने बताउनुभएको छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उहाँले विगतमा कोभिड र सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय ९ बजेसम्म मात्रै तोकिएकोमा यो वर्ष राती १ बजेसम्म नै खेल्न अनुमति दिने बताउनुभएको हो ।

प्रमुख शाहले यो वर्ष देउसी, भैलो खेल्नेलाई प्रहरीले नै सुरक्षा दिने र पेट्रोलिङको व्यवस्था समेत गरेको जनाउनुभएको छ । साथै सोही समयसम्म मर्यादित भएर देउसी, भैलो खेल्न पनि उहाँले अनुरोध गर्नुभएको छ । उहाँले महानगरको निर्णय अनुसार नै नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोधसमेत गर्नुभएको छ ।

विगतका वर्षहरुमा काठमाण्डौमा राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिइएको थियो ।