मुगु सामूहिक हत्या प्रकरण : लुट्ने मनसायले घटना घटेको प्रहरीको खुलाशा

काठमाण्डौ । मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्यामा संलग्न दुईजना प्रकाउ परेका छन् ।

कात्तिक १० गते बिहान छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए । दुई दिनसम्म घरमा चहलपहल नदेखिएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरू मृत भेटिएका थिए ।

घटनामा प्रहरीले गाउँकै गोपालबहादुर बोहरा र गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ । गोपाल र गोरख दुवै मृतकका आफन्त र छिमेकी हुन् । गोरख भने बाँकेको कोहलपुरमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा गोरख दसैँको दुई दिनअघि गाउँ गएपनि गाउँलेले चाल नपाएका र गोठमा लुकेर बसेको अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले दुवैलाई आज दिउँसो सार्वजनिक गर्दैछ ।

प्रहरीका अनुसार लुट्ने मनसायले घटना भएको देखिन्छ । दशैँको भोलिपल्ट कात्तिक ८ गते राती साढे ८ बजे दुवैजना श्रीदेवीको घरमा छिरेको र सबैको हत्या गरेर लुटपाट गरेको प्रहरीले दाबी गरेको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गोरख घटना भएकै राति सुर्खेत भागेका थिए । गोपाल भने गाउँमै बसेका थिए । गोरख श्रीदेवीका माइतीतर्फका आफन्त हुन् भने गोपाल श्रीमानतर्फका आफन्त रहेको प्रहरीले जनाएको छ ।