भूकम्प पीडितले अझै पाएनन् त्रिपाल

काठमाण्डौ । गएको शुक्रवार राति भूकम्प जाँदा निद्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उहाँ निस्कने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि हुनुभयो । उहाँ अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीमा रहेको सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आउनुभएको छ ।

उहाँलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसक्नुभएका थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको रमिताले बताउनुभयो । भूकम्पले मानसिक त्रासमा रहेका धेरैजसो सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।

राहत सामग्रीस्वरूप आएको त्रिपाल, अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताउनुभयो । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनीबाहेक अन्यले नपाउने भनेपछि आफूहरू हैरानीमा परेको उहाँको भनाइ छ । खुला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहेनछ भन्दै निराश हुनुभएको छ ।

त्यस्तै अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गर्नुभयो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुनः एक थान त्रिपाल पाएको उहाँले सुनाउनुभयो । शुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिस्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताउनुभयो । घर पूर्णरूपमा भत्किएर समस्यामा परेको उहाँको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको परकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताउनुभयो ।

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उहाँले बताउनुभयो । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एक पटक विकासको बाटो बन्द गरिदिएको छ ।