पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि तमोर नदीमा काठको पुल
काठमाण्डौ । ताप्लेजुङ पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा काठको पुल निर्माण गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको हो ।
गाउँपालिकाले गाडी सञ्चालन गर्न तमोर नदीमा दुई वटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायीरुपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार गर्ने योजना छ ।
अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिए पनि मोटरेबल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा अस्थायी काठको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणपछि अहिले गाउँ–गाउँमा यातायात सेवा पुगेको फक्ताङ्लुङ गाउँपालिका–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूले बताउनुभयो ।
पक्की मोटरेबल पुल निर्माण नभएसम्म गाउँपालिकाले विगत छ वर्षदेखि अस्थायी काठे मोटरेबल पुल निर्माण गरेर गाउँ–गाउँमा सवारीसाधन पुर्याउँदै आएको छ । अन्य ठाउँमा आवश्यकतानुसार काठेपुल निर्माण गर्दै जाने लिम्बूले बताउनुभयो ।