रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुद्वारा जाजरकोटका भूकम्प प्रभावितलाई तत्काल रु १० करोड सहयोग
काठमाण्डौ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) मार्फत नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो ।
आइएफआरसीको महासचिव जगन चापागाईँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भन्नुभएको छ । उहाँले आगामी दिनमा मानवीय सेवाका लागि आइएफआरसीले थप सहयोग उपलब्ध गराउँदै जाने पनि जानकारी दिनुभएको छ । जाजरकोट र रुकुम पश्चिममा अहिले सोसाइटीका तालिमप्राप्त ९० भन्दा बढी स्वयंसेवक गत शुक्रबारदेखि नै भूकम्पबाट प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा अनवरत रूपमा जुटिरहेका छन् । सोसाइटीले हालसम्म एकहजार सात सय म्याट्रेस, एकहजार पाँच सय तारपोलियन, सोही सङ्ख्यामा ब्ल्याङ्केट, दुईसय बुकटेस, एकजार रोपेस भूकम्पपीडितलाई वितरण गरिसकेको जनाएको छ ।
आवास र गैर खाद्य सामग्री-नगद वितरण, मनोसामाजिक, परामर्श सरसफाइ जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृत रूपमा भूकम्पपीडितलाई उपलब्ध गराउने नीति नेपाल रेडक्रसले लिएको छ ।
राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने आएफआरसीले जनाएको छ । भूकम्प अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यानो कपडासहित नगद सहयोग गर्ने नीति उसले लिएको छ ।