गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बाग्मती सरकारले अघि बढाउने

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बाग्मती सरकारले अघि बढाउने भएको छ ।

आज मङ्गलवार भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो । भरतपुर महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्यारापिटको एक तहमाथि प्यारापिट निर्माण गरिने छ । मैदानको आकार मात्रै बनेको भन्दै उहाँले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिनुभयो । खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उहाँले बताउनुभयो ।

यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत काम अघि बढाइने बताउनुभयो ।
भरतपुर महानगरपालिका-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ । धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेशनले २० बिघा छ कट्ठा जग्गामा निर्माण थालेको क्रिकेट रङ्गशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो ।