नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलार्ई राष्ट्रपति पौडेलको आह्वान
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ सम्मेलनको आज (सोमबार) यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गर्नुभएको हो ।
उहाँले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गर्नुभयो ।
राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला रहेको बताउनुभयो । नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो भन्दै उहाँले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताउनुभएको हो ।
नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उहाँले आग्रह गर्नुभयो ।