एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा आउँदै
काठमाण्डौ । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा लागूहुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्नेे जनाएको छ ।
आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।
आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निःशुल्क दर्ता गराउन सकिन्छ । एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ । एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।