भूकम्प पीडितहरूको उद्धार र घाइतेको उपचारको काममा परिचालित हुन एमालेको आह्वान

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरूको उद्धार र घाइतेहरूको उपचारमा परिचालित हुन पार्टी पङ्तीलाई आह्वान गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन आग्रह गर्दै विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टी कमिटीहरूले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत संकलनमा सहयोग गर्न निर्देशन गर्नुभएको छ ।

उहाँले भूकम्पमा ज्यान गुमाएका सबैजनामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । विपत् र शोकको यस समयमा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रमहरू स्थगित गर्न पनि देशभरका सबै पार्टी निकायहरूलाई आग्रह गर्नुभएको हो ।

महासचिव शंकर पोखरेलले घाइतेहरूको जीवन रक्षाका लागि यथाशीघ्र उद्धार र उपचारमा जुट्न सरकारलाई ध्यानाकर्षण गर्दै पराकम्पका जोखिमप्रति सजग हुँदै उद्धार र राहतको काममा जुट्न पार्टीपङ्तीका साथै सबैलाई अनुरोध गरेका छन् ।

यसैगरी पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज एक अपिल प्रकाशित गरी भूकम्पले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

एमालेले भूकम्प पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न, पीडितहरूलाई राहत उपलब्ध गराउन तथा घाइतेहरूको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । एमालेले भूकम्प प्रभावित जिल्लाका नेता, कार्यकर्ताहरूलाई भूकम्प पीडितको उद्धार कार्यमा सहयोग पुर्‍याउने काममा जुट्न आह्वान गरेको छ ।

गएराती ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट, रुकुम (पश्चिम) लगायतका जिल्लामा पछिल्लो विवरण अनुसार १५७ जनाको निधन भइसकेको छ भने सयौं घाइते भएका छन् । ठूलो संख्यामा घरहरू भत्कनुका साथै भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ ।