आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज (बिहीवार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भएको छ ।
साथै उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न समेत निर्देशन दिएको उहाँको भनाई छ ।