बाँके हत्या प्रकरण : रिगलविरुद्धको मुद्दामा भोलि निर्णय हुने

काठमाण्डौ। योगराज ढकाल (रिगल)को मुद्दामा सर्वोच्च अदालतले भोलि (बिहीबार) निर्णय सुनाउने भएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको हो । संविधान दिवशमा कैद सजाय मिनाहा पाएका रिगलको मुद्दामा सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

बाँकेका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । रिगल चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि चेतनकी श्रीमती भारती मानन्धर शेर्पाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।