माघको दोस्रो सातासम्म राष्ट्रिय सभाको रिक्त हुने १९ सदस्यका लागि निर्वाचन हुने
काठमाण्डौ । राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।
आज (बुधवार) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिनुभएको हो ।
आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको थपलियाले बताउनु भएको छ ।
उहाँले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताउनुभयो । आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताउनुभयो ।
त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उहाँको भनाई छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडी बढाउने पनि जानकारी दिनुभयो ।