शेयर बजार निरन्तर ओरालो लाग्यो

काठमाण्डौ । शेयर बजार आज (बुधबार) पनि ओरालो लागेको छ । हिजो (मङ्गलबार) दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज ३३ लाख ६४ हजार कित्ता शेयर ८१ करोड २० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ६ लाख १६ हजार सात सय कित्ता शेयर १४ करोड ६० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।