महासचिव गुटेरेसले नेपालबारे महत्त्वपूर्ण विषयहरूमा प्रकाश पार्नुभएको छ : अध्यक्ष ओली
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्लाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।
आज (मङ्गलबार) महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले संसदमा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनुभयो । महासचिव गुटेरेसले नेपालबारे राम्रो मूल्याङ्कन गरेको उहाँको धारणा छ ।
महासचिव एन्टोनियो गुटेरेसले केही महत्त्वपूर्ण विषयहरू प्रकाश पार्नुभएको अध्यक्ष ओलीले बताउनुभएको छ । गरिब देशलाई सम्पन्न देशले सहयोग, समर्थन गर्नुपर्छ भन्ने महासचिव गुटेरेसको भनाइ सराहनीय रहेको उहाँको भनाइ छ । संयुक्त राष्ट्र सङ्घमा जनाएका प्रतिबद्धता अनुरूप वातारणीय विनाश रोक्न नेपालको सजगता र योगदानप्रति उहाँले विशेष प्रशंसा गर्नुभएकोमा आफू र आफ्नो पार्टीको तर्फबाट धेरै धन्यवाद भन्न चाहेको बताउनुभएको छ ।
महासचिव गुटेरेसले पीडित केन्द्रित भएर सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामनासमेत गरेको बताउनुभयो ।