नेपाल देश शान्तिको प्रवद्र्धक र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक हो : महासचिव गुटेरेस

काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज (मंगलबार) सम्बोधन गर्दै महासचिव गुटेरेसले त्यस्तो बताउनुभएको हो ।

महासचिव गुटेरेसले नेपाल देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक रहेको बताउनुभयो ।

उहाँले नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको भन्दै यस्तो प्रक्रियालाई राष्ट्रसंघले समर्थन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ टुंग्याउन लाग्दै गरेको भन्दै अन्यायमा परेका पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताउनुभयो ।

महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।

सम्बोधनकै क्रममा गुटेरेसले नेपाली सेनाले राष्ट्र सङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । उहाँले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरूले आफ्नो ठाउँबाट उठेर मौनधारण गर्नुभएको थियो ।