राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” पेस

काठमाण्डौ । “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ ।

आज (मंगलबार) बसेको राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन पेस भएको हो । बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले समितिको प्रतिवेदन पेस गर्नुभएको हो ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौं वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको, तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व. २०७९/८० प्रश्तुत गर्नुभयो ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।