बाँके प्रशासनले सेवाग्राहीलाई राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम निःशुल्क भरिदिने
बाँके । जिल्ला प्रशासन कार्यालय (जिप्रका) बाँकेले कार्यालयबाट प्रदान गर्दैआएको सेवा सुविधाहरु सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने व्यवस्था मिलाएको हो ।
राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । फाराम भर्नका लागि अतिरिक्त समय र ब्ययभार नलाग्ने भएपछि सेवाग्राही खुशी भएका छन् ।
राष्ट्रिय परिचयपत्रसहित राहदानीको पनि अनलाइन फाराम जिल्ला प्रशासनले नै निःशुल्क भरिदिने व्यवस्थाको सुरुवात गरिएको छ । फाराम भरेकै दिन फोटो समेत खिच्ने गरिएको छ । राजस्व रकम तिरेर एकै दिनमा सेवा पाउने प्रशासनले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रको अनलाइन फारम पनि प्रशासनका कर्मचारीले निःशुल्क भरिदिने भएकाले एक रुपैयाँ पनि खर्च नभई एकै दिनमा काम सम्पन्न हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।