विश्वकप छनोट : नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाण्डौ । मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज (मङ्गलबार) भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

पहिलो खेलमा नेपालले हिजो (सोमबार) सिङ्गापुरलाई ८ विकेटले हराएको थियो । अब नेपालले बिहीबार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।