इजरायलद्वारा युद्ध विराम गर्न अस्वीकार

काठमाण्डौ ।  जारी हमास विरुद्धको युद्धमा युद्धविराम गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्वीकार गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उहाँले अहिले युद्धको समय रहेको बताउनुभएको छ । उहाँले जसरी सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिका युद्धविरामको लागि तयार भएको थिएन अहिले इजरायलको अवस्था पनि उस्तै रहेको बताउनुभयो ।

प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म ८ हजार ३ सय ६ जनाको ज्यान गइसकेको छ ।

इजरायलले स्थलगत कारबाही बढाएपछि गाजा क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ ।