प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द
काठमाण्डौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सनं) मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्नु भएको छ । हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ । बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । घाइते उनको केहि घण्टामै उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।
विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहाडै हत्या भएको घटनाले शिक्षक, विद्यार्थी, अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरी प्रशासन निरीह रहेको प्रमाणित भएको नेशनल प्याब्सन मधेश प्रदेशको भनाई छ । प्रिन्सिपल सर्राफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्र नै शोकाकुल बनेको भन्दै नेशनल प्याब्सनले मृतक सर्राफप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गरेको छ ।
हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ गरी पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग नेशनल प्याब्सनले माग समेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ । दुई मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल सर्राफमाथि गोली चलाएका थिए ।
बारा प्रहरीले घटनामा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरिसकेको दावी गरेको छ । पहिचान गोप्य राखिएको उनीहरुलाई सिसिटिभी फुटेजमा देखिएको शंकास्पद गतिविधिको आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।