हमास आक्रमणमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान

काठमाण्डौ । इजरायल स्थित हमास आक्रमणका क्रममा ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ ।

तेलअभिभमा अवस्थित नेपाली राजदूतावासका अनुसार थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो ।

हिजो सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द शाहको शव पहिचान भएको हो । पहिचान भएका शवहरू छिट्टै नेपाल पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा, पदम थापा र सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ ।

राजदूतावासका अनुुसार यसअघि बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव नेपाल पठाइसकेको छ भने सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी जारी रहेको जनाएको छ ।