पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडेकोमा असन्तुष्टि जनाउँदै यसले जनस्तरमा राम्रो सन्देश नगएको बताउनुभएको छ ।

प्रदेश कमिटीका नवनिर्वाचित सदस्यहरुलाई आज (सोमबार) पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य प्रदेशमा कतिपय ठाउँमा सर्वसम्मत हुँदा लोकतन्त्र कमजोर नभएको बरु कसैको कित्ताबन्दी नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले गण्डकीमा प्यानल बनाएर लड्दा स्वस्थ प्रतिस्पर्धा नभएको टिप्पणी जनस्तरबाट आएको भन्दै ओलीले अब एकताबद्ध भएर सबैलाई समेटेर अघि बढ्न निर्देशन दिन्भयो । उहाँले प्रतिस्पर्धा भनेको विचारमा हुने भन्दै एमालेभित्र विचारमा एकता भएका बेला पदका लागि प्रतिस्पर्धा हुँदा गलत प्रवृति भित्रिन सक्नेमा सचेत रहनसमेत आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित गर्नुपर्ने भन्दै आन्तरिक विवादमा रुमल्लिन नहुने बताउनुभयो ।

आफूलाई प्रचण्ड–माधवहरुले कम्युनिष्ट पार्टीको सदस्यबाट समेत हटाएर दुई तिहाइको सरकार शेरबहादुर देउवालाई बुझाउन निवेदन लिएर गएको नबिर्सनसमेत ओलीले पार्टी पंक्तिलाई आग्रह गर्नुभयो ।