आयोगले थाल्यो राष्ट्रिय सभा निर्वाचनको तयारी, उपनिर्वाचन यो वर्ष हुने सम्भावना कम
काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभाका एक–एक सीटसहित तीनै तहका रिक्त जनप्रतिनिधिको पदपूर्तिका लागि उपनिर्वाचन यो वर्ष हुने सम्भावना कम भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी थालेको छ । तर प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचन भने वैशाख अघि नहुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको भन्दै उपनिर्वाचन आगामी चैत वैशाखतिर मात्रै हुने सम्भावना रहेको बताउनुभयो । माघको दोस्रो साता राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुँदैछ ।
नेपालको संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । यस्तै, संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यहि कानूनी व्यवस्था रहेको छ ।