विश्वकप छनोटमा नेपालुसँग सिंगापुर ८ विकेटले पराजित
काठमाण्डौ । सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी–२० विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा आज (सोमबार) टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाउँदा कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे। आसिफ शेखको २७ रनको योगदान रह्यो।
नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो।
नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २–२ विकेट लिए। नेपालले समूहको दोस्रो खेलमा भोलि (मंगलबार) मलेसियासँग खेल्नेछ।