महासचिव गुटेरेसको भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुत बन्ने प्रधानमन्त्री दाहालको दाबी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल  व्यक्त गर्नुभएको छ ।

महासचिव गुटेरेससँग आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो । नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गर्नुभयो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि औपचारिक भेटवार्ता गर्नुभएको थियो ।