लेबनानमा तैनाथ एक नेपाली शान्ति सैनिक हतियारको सेल खसेर घाइते
काठमाण्डौ । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।
त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी, रकेट र मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राती ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । घाइते सैनिकको नाम खुलाइएको छैन ।
उक्त सेलको टुक्रा बङ्करमा रहेका सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो । घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ ।
त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी आठसय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।